पुराणको परिचर्चा


मूल वैदिक वाङ्मय (संहिता, ब्राह्मण, आरण्यक र उपनिषद्), वैदिक परम्पराका अन्य ग्रन्थहरू (उपवेद, वेदाङ्ग, दर्शन, पुराण, इतिहास, स्मृति आदि), पुरुषार्थचतुष्टयलाई सम्बोधन गर्ने विविध विधाका प्राचीन र अर्वाचीन अनेकौँ कृतिहरू, मानव जीवनका विविध आयामलाई व्याख्या गर्ने अनेकौँ सैद्धान्तिक र प्रायोगिक शास्त्रहरू, भाष्यहरू, टीकाहरू, प्रकरण ग्रन्थहरू, साहित्यिक रचनाहरू समेतको विस्तृत वाङ्मयिक सम्पदाको उत्तराधिकार आजको हिन्दू समाजले पाएको छ । मन्त्रद्रष्टा ऋषि एवं ऋषिकाको प्रत्यक्ष साधना एवं साक्षात्कारबाट जानिएका वेद संहिता र उनैका कर्तृत्त्व जोडिएका ब्राह्मण, आरण्यक र उपनिषद् ग्रन्थहरूमा निहित ज्ञान तथा विज्ञानको चिन्तन र मन्थनका साथसाथै देश–काल–परिस्थिति अनुसारका आवश्यकता, प्रयोग, पर्यवेक्षण, अनुभव, अनुभूति, विश्लेषण आदिको फलस्वरूप उत्तरोत्तर वृद्धिमान् वाङ्मयिक परम्परा जीवन्त रहेको छ । सोही परम्परामा ‘पुराण’ संज्ञाले जनाइने ग्रन्थ–समूह पनि छ । ‘पुराण’ शब्दलाई कहिले एक वचन जस्तो गरी त कहिले बहुवचन जस्तो गरी प्रयोग गरेको देखिएतापनि वर्तमानमा ‘पुराण’ भनेको कुनै एउटा ग्रन्थ मात्र होइन, यो त ग्रन्थ–समूहलाई जनाउने संज्ञा हो ।
‘पुराण’ संज्ञाको शब्द–व्युत्पत्ति हेर्ने हो भने यो ‘पुरा’ र ‘अण’ मिलेर बनेको छ । यसरी सामान्य अर्थमा पुराकाल (पुरातन समय, भूतकाल, अतीत, पुरानो युग) का परिघटना, विषयवस्तु, चरित्र आदिलाई बताउने ग्रन्थ नै पुराण भन्ने तात्पर्य बुझिन्छ । शब्द–व्युत्पत्तिमा नअल्मलिई ‘पुराण’को विशेष अर्थ खोज्दा थाहा हुन्छ — पुराकाल बारे बताउने सबै ग्रन्थलाई पुराण भनिँदैन । पुराण कहलाउनका लागि त्यस्तो ग्रन्थमा १० वटा वा पाँचवटा लक्षणहरू हुनुपर्छ । महापुराण हुनका लागि त दशैवटा लक्षणहरू (सर्ग, विसर्ग, वृत्ति, रक्षा, मन्वन्तर, वंश, वंशानुचरित, संस्था, हेतु र अपाश्रय) आवश्यक मानिन्छ र उपपुराण हुनका लागि पनि कम्तीमा पाँवटा लक्षणहरू (सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर र वंशानुचरित) समावेश भएको हुनैपर्छ ।
(१) सर्ग
प्रकृति, पुरुष (चैतन्य) र प्रकृतिको संयोगबाट सृष्टि हुने महत् तत्त्व, पाँच तन्मात्राहरू, पाँच महाभूतहरू, पाँच विषयहरूसँग सम्बद्ध पाँच ज्ञानेन्द्रियहरू, पाँच कर्मेन्द्रियहरू र मनको उत्पत्ति बारेको ज्ञान सर्गमा समावेश गरिन्छ ।
(२) विसर्ग
चराचर (जडचेतनात्मक) सृष्टि बारेको ज्ञान विसर्गमा समावेश गरिन्छ ।
(३) वृत्ति
चराचर जगत्का आचरण, चालचलन, आचारविचार वृत्ति अन्तर्गत पर्छन् ।
(४) रक्षा
ईश्वरीय अवतारले साधु, सज्जन एवं वेदको रक्षा गर्ने प्रसङ्गलाई रक्षा अन्तर्गत मानिन्छ ।
(५) मन्वन्तर
काल–गणनाको एउटा विशेष पद्धति अनुसार एक जना मनुको पूरा अवधिलाई मन्वन्तर भनिन्छ । पुराणको विशेषतामा मन्वन्तर राखिनुको तात्पर्य के हो भने पुराणमा विभिन्न मन्वन्तरका अधिपति मनुहरू, मनुका सन्तानहरू, देवताहरू, ऋषिहरू, ईश्वरीय अंशावतारहरू र ईश्वरको वर्णन गरिनु पर्छ ।
(६) वंश र (७) वंशानुचरित
यहाँ वंश शब्दले ब्रह्माद्वारा उत्पन्न गरिएका राजाहरूको वंशावलीलाई र वंशानुचरितले उक्त वंशमा जन्मेका महान् व्यक्तिहरूका चरित्रको वर्णनलाई इंगित गरिएको हो ।
(८) संस्था
सृष्टिको लय (अर्थात् प्रलय) को वर्णन पनि पुराणको विषयवस्तु हो । यस अनुसार पुराणमा नैमित्तिक, प्राकृतिक, नित्य र आत्यन्तिक प्रलय बारे बताइन्छ ।
(९) हेतु
जीवले गर्ने कर्म र कर्म सिद्धान्त अनुसार जीवले पाउने फल (जस्तै पुनःजन्म) आदि विषयवस्तुलाई पुराणमा समावेश गरिएको हुन्छ भन्ने कुरालाई यहाँ हेतु भनेर जनाइएको हो । जीवले गर्ने कर्मको फलोपभोगको लागि नै सृष्टिको क्रम अघि बढ्ने भएकाले आविद्यिक कर्म गर्ने जीवलाई नै सृष्टिको हेतु भनिएको बुझिन्छ ।
(१०) अपाश्रय
यहाँ अपाश्रय भनेर ब्रह्म (परमात्मा) लाई भनिएको हो । अपाश्रयलाई पुराणको विशेषता मानिएको सकारण हो । पुराणले सर्वसाधारणलाई ज्ञान एवं प्रेरणा दिई धर्मको धारणा गराउँछन् र धर्मको धारणाले मानिसमा त्रिवर्ग (अर्थ, काम, मोक्ष) का लागि पात्रता सुनिश्चित हुन्छ । यसरी पुराणको श्रवण, मनन र तदनुसार आचरण गर्ने मानिसले अन्ततोगत्वा जीवात्माले परमात्माको साक्षात्कार गर्छ भन्ने मान्यता रहेको छ । वेदमा प्रत्यक्ष पहुँच नहुने व्यक्तिले पनि तत्त्वज्ञानबाट वञ्चित हुन नपरोस् र सहज तरिकाले ज्ञान प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले पुराण नामक ग्रन्थ–समूह रचिएका हुन् भनिन्छ । तसर्थ पुराणले अन्य कुराहरूको जतिसुकै विस्तृत चर्चा गरेतापनि मूल ध्येय चाहिँ मानिसलाई ब्रह्मज्ञानसम्म डोर्याउने नै हो । अर्थात् पुराणले सर्वसाधारणलाई आफ्नो मूल (ब्रह्म) बारे ज्ञान दिन्छ ÷ दिनुपर्छ भन्ने जनाउन अपाश्रयलाई पुराणको लक्षण भनी उल्लेख गरिएको हो ।
पुराणका दश लक्षणहरू भनेर निम्नानुसार उल्लेख गरिएको पनि पाइन्छ ः
(१) सर्ग (मूल सृष्टि वर्णन),
(२) विसर्ग (विशेष सृष्टि वर्णन),
(३) स्थान (भूगोल सहित सम्पूर्ण ब्रह्माण्डको वर्णन),
(४) पोषण (प्राणीहरूका धर्म, सदाचार, कर्तव्यको उपदेश)
(५) ऊति (कर्म सिद्धान्त, स्वर्ग–नर्क आदिको वर्णन)
(६) मन्वन्तर एवं वंशानुचरित,
(७) अवतारचरित,
(८) निरोध (चरित्रविज्ञान),
(९) मुक्ति (दर्शनशास्त्र),
(१०) आश्रय (भगवद्भक्ति मार्फत् ब्रह्मसाक्षात्कार) ।
यसरी ‘पुराण’ भन्नासाथ प्राचीनकालसँग सम्बद्ध भन्ने देखिन्छ, तर यो इतिहासभन्दा अलग विधा हो । संस्कृत ग्रन्थहरूमा ‘पुराण’ र ‘इतिहास’को उल्लेख प्रायः सँगसँगै गरिएको पाइन्छ तर तिनीहरू अलग अलग ग्रन्थ–समूहहरू हुन् भन्ने पनि स्पष्ट देखिन्छ । विषयवस्तुको विस्तार (दायरा) हेर्दा इतिहासको तुलनामा पुराणको क्षेत्र बृहत्तर देखिन्छ । पुराणमा इतिहास पनि समावेश हुन सक्छ, तर इतिहास मात्र दिएर पुराण पूरा हुँदैन । इतिहासमा भूतकालमा भएका घटनाको वर्णन हुन्छ । जस्तै ः देवासुर सङ्ग्राम, राम र रावणको युद्ध लगायतका ऐतिहासिक घटना बारे वर्णन, महाभारत युद्धको वर्णन आदि । पुराणमा चाहिँ माथि उल्लेखित १० वटा वा पाँचवटा विशेषताहरू पूरा हुनु पर्छ । सामान्यतया उक्त १० वटै विशेषता पूरा भएमा महापुराण र पाँचवटा मात्र पूरा भएमा उपपुराण भन्नुपर्छ भनिएको पाइन्छ । तथापि उक्त १० वटै विशेषता पूरा भएका ग्रन्थलाई पनि कतिपयले महापुराणमा र अन्यले चाहिँ उपपुराणको सूचीमा उल्लेख गरेको पनि देखिन्छ । यसको तात्पर्य के हो भने महापुराणमा पर्ने पुराणहरू कुन कुन हुन् भन्नेमा थोरै मतान्तर छ ।
त्यस्तो मतान्तर किन भएको होला त ? सम्प्रदाय–विशेषका आग्रहले महापुराणको सूचीकरणमा केही मतवैभिन्न्य उब्जेको होला भन्ने अध्येताहरूको निष्कर्ष देखिन्छ । कतिपय पुराणहरूमा सम्प्रदाय–विशेषको सीमाङ्न स्पष्ट छ भने कतिपय पुराणहरूमा कुनै सम्प्रदाय–विशेषको आग्रह नभई बृहत्तर समन्वयकारी विषयवस्तु समावेश भएका छन् । कुनै सम्प्रदाय–विशेषको सीमाङ्नमा सीमित नरहेका पुराणहरूलाई लगभग सबै सूचीकरणमा महापुराण मानेर उल्लेख गरेको पाइन्छ । मुख्य वा लोकप्रिय पुराणहरूको वाचन एवं श्रवणका लागि अनुष्ठान–विशेष वा समारोह–विशेष (जस्तै सप्ताह, नवाह आदि) आयोजना गर्ने प्रचलन हिन्दू धर्मावलम्बी समुदायमा अद्यापि छ । पुराण वाचन एवं श्रवणका लागि आयोजित अनुष्ठान–विशेष वा समारोह–विशेषलाई विकास निर्माणका लागि साधनस्रोत (नगद, जिन्सी, जमीन आदि) जुटाउने माध्यम बनाउने प्रचलन पनि छ ।
‘पुराण’ शब्दको उल्लेख वैदिक वाङ्मयमै पनि छ । वैदिक वाङ्मयमा पुराण शब्दको उल्लेख भएको तथ्यलाई आधार मानी ‘पुराण’ संज्ञाले जनाइने कुनै ग्रन्थ वा ग्रन्थ–समूह वेद संहिता जत्तिकै पुरानो हुनु पर्छ भन्ने विश्लेषण गर्ने अध्येताहरू पनि छन्, तर वर्तमान कालमा उपलब्ध पुराणहरूका पाठ (अन्तर्वस्तु) मा रहेका सामग्रीहरू, विषयवस्तुहरू, पात्रहरू र घटनाहरूमा अर्वाचीनता भएको साक्ष्यले यी पुराण र वैदिक वाङ्मयमै उल्लेखित पुराण अलग अलग हुन् भन्नु पर्ने तर्क गर्ने अध्येताहरू पनि छन् । वेद–संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् सँगसँगै उल्लेखित मूल ‘पुराण’ शताब्दीयौँ पहिल्यै विलुप्त भइसकेको र हाल उपलब्ध पुराण नामका ग्रन्थहरू कालान्तरमा लेखिएका हुन् भन्ने उनीहरूको कथन रहेको छ । ग्रन्थका नाम (शीर्षक) मा पुराण शब्द पनि जोडेर पुस्तक लेख्ने क्रम आजभन्दा केही शताब्दी पहिलेसम्मै पनि चलेको थियो भन्ने दाबी गरिएको पनि देखिन्छ । यस्तो पृष्ठभूमिमा ‘पुराण’ शब्द जोडिएका प्रत्येक पुस्तकलाई उत्तिकै प्राचीन ठान्नु हुँदैन भन्ने तर्क अगाडि आउँछ ।
पुराणका प्रवर्तक स्वयं ब्रह्मा हुनुहुन्छ भन्ने एउटा मान्यता रहेको छ । ब्रह्माबाट प्रारम्भ गरिएतापनि प्रत्येक द्वापर युगमा वा द्वापर युग बितेर कलियुग लाग्ने बेलामा व्यासले पुराणहरूको सम्पादन गरी सर्वसाधारणसम्म प्रचारको व्यवस्था गर्ने विश्वास गरिन्छ र सामान्यतया पुराणको कृतित्त्वलाई व्याससँगै जोड्ने प्रचलन छ । हिन्दू समाजमा कथ्य र लेख्य दुइटै परम्पराले पुराणको प्रत्यक्ष सम्बन्ध वेदव्याससँग रहेको बताउँछन् । व्यास वा वेदव्यास भन्ने कुनै एक जना व्यक्तिको नाम–विशेष नभई कर्मवाचक पदवी वा उपाधि हो । वर्तमान युगका वेदव्यासको नाम कृष्णद्वैपायन भनिएको पाइन्छ । कृष्णद्वैपायन व्यासको जन्मस्थल भएको विश्वासका आधारमा नेपालको तनहुँ जिल्लामा व्यास जन्मस्थल विकास कोष र व्यास नगरपालिका पनि गठन गरिएको छ ।
कृष्णद्वैपायन व्यासले प्रारम्भमा एउटा सिङ्गो पुराण संहिता आफ्ना शिष्य लोमहर्षणलाई पढाउनु वा सुनाउनु भएको र कालान्तरमा पुराण नामक ग्रन्थहरूको सङ्ख्या १८ पुगेको बताइन्छ । एउटा पुराणलाई १८ वटा बनाउने कार्य कृष्णद्वैपायन व्यास स्वयंले गर्नुभएको थियो भन्ने उल्लेख पनि पाइन्छ र उहाँ शिष्य लोमहर्षण तथा प्रशिष्यहरूले त्यस्तो विभाजन गर्नुभएको थियो भन्ने पनि उल्लेखित देखिन्छ । अष्टादश पुराण (१८ वटा पुराण) भन्ने प्रसिद्ध भएतापनि वर्तमान समयमा ग्रन्थको नामसँगै पुराण जोडिएका कृतिहरू १८ वटामा सीमित छैनन् । वस्तुतः आज उपलब्ध पुराण नाम ग्रन्थहरू धेरैवटा छन् । तिनीहरूमध्ये १८ वटा पुराणहरू मुख्य मानिन्छन्, महापुराण पनि भनिइन्छन् एवं तिनीहरू वेदव्यास स्वयं वा उहाँका शिष्य–प्रशिष्यद्वारा रचित भन्ने मान्यता छ । मुख्य वा प्राचीन पुराणहरूको मान्यता र लोकप्रियताबाट प्रभावित भई त्यस्तै शैलीमा कृति रचना गरी कृतिको नाममा पुराण जोडिदिने प्रवृत्तिले १८ वटा पुराणहरू र १८ वटै उपपुराणहरूका साथसाथै कालान्तरमा अन्य धेरैवटा पुराण भनिइने कृतिहरू पनि थपिएको देखिन्छ ।
वर्तमान समयमा पुराण भनेर उपलब्ध ग्रन्थहरूमध्ये मुख्य १८ वटा पुराणहरू (अष्टादशपुराण) कुन कुन हुन् भन्ने निर्धारण गर्नका लागि एउटा श्लोक प्रसिद्ध छ ः
“मद्वयं भद्वयं चैव ब्रत्रयं वचतुष्टयम् ।
अनापलिङ्गकुष्कानि पुराणानि विदुर्बुधाः ।।”
देवीभागवतको उक्त श्लोकानुसार पुराणहरूको निम्नानुसार सूची बन्छ ः—
(१) मत्स्य,
(२) मार्कण्डेय,
(३) भागवत (देवीभागवत मात्र वा देवीभागवत र श्रीमद्भागवत दुवै भन्नेमा मतवैविध्य देखिन्छ),
(४) भविष्य,
(५) ब्रह्म,
(६) ब्रह्माण्ड,
(७) ब्रह्मवैवर्त,
(८) विष्णु,
(९) वामन,
(१०) वाराह,
(११) वायु,
(१२) अग्नि,
(१३) नारद,
(१४) पद्म,
(१५) लिङ्ग,
(१६) गरुड,
(१७) कूर्म,
(१८) स्कन्द ।
माथि दिइएको १८ पुराणहरूको सूचीभन्दा फरक सूचीकरण पनि पाइन्छ । श्रीमद्भागवतमा निम्नानुसारको नामावली पाइन्छ ः—
(१) ब्रह्म,
(२) पद्म,
(३) विष्णु,
(४) शिव,
(५) लिङ्ग,
(६) गरुड,
(७) नारदीय,
(८) भागवत,
(९) अग्नि,
(१०) स्कन्द,
(११) भविष्य,
(१२) ब्रह्मवैवर्त,
(१३) मार्कण्डेय,
(१४) वामन,
(१५) वाराह,
(१६) मत्स्य,
(१७) कूर्म,
(१८) ब्रह्माण्ड ।
माथि दिइएका दुइटा सूचीहरूका साथसाथै अन्य सूची पनि पाइन्छ । अनेक सूचीहरूमा धेरै पुराणहरूमा मतैक्य नै छ र थोरै सङ्ख्यामा अन्तर (फरक) परेको देख्न सकिन्छ ।
काल (समय) को रेखीय मान्यता (अर्थात् लिनियर टाइम) मा विश्वास गर्ने “आधुनिक” अध्येताहरूले वैदिक वाङ्मय र पौराणिक वाङ्मयलाई पार्थक्यको दृष्टिकोणले विश्लेषण गर्ने गरेका छन् । त्यस्ता अध्येताहरू पुराणलाई वेदव्यासले आजभन्दा ५ हजार वर्ष पहिले लेख्नुभएको भन्ने हिन्दू मान्यतालाई मान्दैनन् । त्यसरी नमान्नेहरूमध्ये कैयौँ त पूर्वाग्रही मताग्रहबाट पीडित हुन्छन् र कतिपयले पुराण–पद्धतिसँग नमिल्दो साक्ष्यको खोजी गरी असम्मेयता दोषमा बाँधिन्छन् । मुख्य १८ वटा पुराणहरूको रचनाकाललाई नै त्योभन्दा परवत्र्ती मान्ने र पुराण भनिएका कृतिका अन्तर्वस्तु (कन्टेन्ट्) मा समय समयमा सम्पादन, परिष्कार वा फेरबदल भएको तिनीहरूको दाबी देखिन्छ । वेद संहिताको नित्यता, शुद्धता एवं अविच्छिन्नताको लागि पद, क्रम, घन, जटा, माला, प्रातिशाख्य, चरणव्यूह, निरुक्त, शिक्षा, कल्प आदिको व्यवस्था भएजस्तो पुराण ग्रन्थका लागि नभएको कारणले पुराण ग्रन्थमा बेला बेलामा परिवर्तन, परिमार्जन, संशोधन वा सम्पादन भएको हुनु पर्छ भन्ने अनुमान पनि तिनीहरूको रहेको छ । त्यसैगरी उपपुराणहरूको रचनाकाल बारे पनि मतवैभिन्न्य देखिन्छ ।
परम्परागत आस्थामा स्थिर हिन्दू जनसमुदायले त्यस्ता उहापोह, वादविवाद, मतवैभिन्न्यलाई वास्ता नगरी आफ्ना आफ्ना आस्था अनुसार पुराण वाङ्मयलाई प्राचीन कालका निधि मानेर श्रद्धापूर्वक पठन–पाठन, वाचन–श्रवण, संरक्षण–प्रवर्धन गरिरहेको अवस्था छ । अचेल अनेकौँ भाषाहरूमा अनुवादित भएतापनि अति प्राचीन, प्राचीन वा अर्वाचीन जुनसुकै समयमा लेखिएका भएतापनि ‘पुराण’हरू मूलतः संस्कृतमा लेखिएका थिए । आजसम्म पनि पुराण वाचन गरिँदा पहिले मूल संस्कृत पाठको पारायण गरेर मात्र स्रोताका लागि नेपाली वा अन्य भाषामा व्याख्या गरिदिने प्रचलन छ ।
पुराणले वैदिक ज्ञानलाई नै आफ्नो तरिकाले प्रस्तुत गर्ने हुन् भन्ने मान्यता रहेको छ । यद्यपि पुराणले वैदिक ज्ञानलाई यथावत् प्रस्तुत गर्न सकेनन् र तिनीहरूका माध्यमबाट विकृतिको प्रवेश भएको थियो भनेर पुराणको आलोचना गर्ने मत पनि रहेको छ । सारमा, वेदलाई मान्नेहरूमध्ये कतिपयले पुराणलाई नमान्ने अवस्था पनि हाम्रो समाजमा छ र बहुसङ्ख्यक हिन्दूहरूले पुराणलाई पनि वेदकै परम्परामा रहेका ग्रन्थ भनेर मान्ने अवस्था पनि हाम्रै समाजमा छ । पुराणमा वेद (निगम) को सर्वोच्चताको उल्लेख भएको पाइन्छ तापनि कतिपय पुराणका पाठ (अन्तर्वस्तु) मा आगम वा तन्त्र परम्पराको बढी प्रभाव परेको छ भन्ने अध्येताहरू पनि छन् । वेद र वेदोत्तर ज्ञानका साथसाथै हिमवत्खण्ड एवं भारतवर्षमा लामो कालखण्डमा सहजीवनमा रहेका विविध जाति, प्रजाति, समुदाय, सम्प्रदायहरूका आचारविचार पुराण ग्रन्थहरूमा समावेश हुनु कुनै अनौठो परिघटना होइन ।
धेरै लामो कालखण्डसम्म हिन्दू समाजका अधिकतर साधारणजनका लागि पुराण नै वैदिक वाङ्मयको तुलनामा सहज पहुँच भएका ग्रन्थराशि थिए । वेद मान्ने र पुराण सुन्ने व्यावहारिक परिस्थितिलाई विचार गर्दा जनसाधारणका लागि धर्मको अवधारणा, नैतिक मान्यता एवं सदाचारका लागि प्रेरणाका मुख्य प्रत्यक्ष स्रोत त पुराण नै थिए भनियो भने अत्युक्ति हुँदैन । यसको तात्पर्य के हो भने सर्वसाधारणले सर्वोच्च आधिकारिकता वेदको मान्ने र व्यावहारिक अनुकरणको प्रयत्न चाहिँ पुराणको गर्ने गर्थे । जुन ज्ञान मन्त्रद्रष्टा ऋषिहरू मार्फत् वेदमा अभिव्यक्त भएको हो, सोही ज्ञान नै कथामा बुनेर पुराणको माध्यमबाट सर्वसाधारणसम्म ल्याइएको हो भन्ने जनविश्वास हिन्दू समाजमा रह्यो । यसरी वेदमा पहुँच नभएतापनि वैदिक ज्ञानबाट कसैले पनि वञ्चित हुनु परेको छैन भन्ठानेको देखिन्छ । उक्त जनविश्वास र पुराणलाई वेदकै उपबृंहण (व्याख्या वा विस्तार) भनिएको शास्त्रीय कथनमा सङ्गति देखिन्छ ।
वेदमै सोझो पहुँच हुनु र पुराण मार्फत् वेदको ज्ञानपरम्परालाई लिन खोज्नुमा कत्ति पनि फरक परेको थिएन होला त ? कत्ति पनि फरक नपर्ने भन्नु धरातलीय यथार्थसँग नमिल्ने कुरा हुन्छ । फरक अवश्यै परेको थियो । वैदिक वाङ्मयले ज्ञान, कर्म र उपासना (भक्ति) को समन्वयात्मक जीवनमूल्य दिएकोमा पुराण मार्फत् जाँदा भक्तिको आयाम बढी प्रबल भएको अवस्था आएको देखिन्छ भन्ने विश्लेषण कतिपयले गरेको पाइन्छ । यद्यपि पुराणमा ज्ञान र कर्मलाई पनि समावेश गरिएको छ । भक्तिमार्गले मानिसलाई पुरुषार्थचतुष्टय प्रत्येक मानिसको लक्ष्य हो भन्ने भावना सञ्चार गराई कर्मठता पनि बढायो भन्ने मत एकथरि अध्येताको रहेको देखिन्छ भने अर्काथरि अध्येताले पुराणले भाग्यवादको अवधारणा प्रवर्धन गरेको जिकीर गरेका छन् । पुराणको प्रशंसा गर्नेहरूले यी ग्रन्थले स्मृति वा धर्मशास्त्र भनिने ग्रन्थको तुलनामा सर्वसाधारणको लागि बढी उदार व्यवस्थालाई प्रवर्धन गरेको एवं हिन्दू समाजलाई समावेशी बनाउन ढोका खोलेको भन्ने गरेका छन् । पुराणको प्रशंसा र आलोचना जे गरिएतापनि यो तथ्यलाई सबैले मान्छन् कि निकै लामो समयावधिसम्म पुराणहरूले भारतवर्षका सर्वसाधारणको आचारविचारलाई प्रभाव पारेका थिए र आज पनि हिन्दू समाजमा पुराणहरूले न्यून वा अधिक्, प्रत्यक्ष वा परोक्ष प्रभाव पारिरहेकै छन् । हिन्दू समाजको प्रगतिको लागि पुराण र तिनीहरूले पारेका प्रभावहरूको अनुसन्धान गरी स्थितिगत्यात्मक विश्लेषण गर्नु आवश्यक हुन्छ ।
खासमा पुराणका कुराको चुरो जान्न अभिधा, लक्षणा र व्यञ्जनाले पुग्दैन र तात्पर्यार्थ लगाउनु पर्ने हुन्छ । मीमांसकहरूले स्पष्ट पारेझैँ ‘अर्थवाद’ का लागि प्रयोग गरिएका कथा, उपमा र चमत्कारका कुरालाई महत्त्व दिने प्रवृत्तिले चुरो ज्ञान छोपिने अवस्था हुन्छ । साथै, पुराणको प्रमाण–प्रमेय पद्धति र अहिलेका पुराण–पाठक, पुराण–वाचक र स्रोताले मेसो पाएको प्रमाण–प्रमेय पद्धतिमा परेका अन्तरले हुने स्वाभाविक असम्मेयता दोष पनि ठूलो अवरोध हो । पुराणको पठन–पाठन, प्रवचन–श्रवण त हाम्रो समाजमा अविच्छिन्न रह्यो, तर त्यसका लागि आवश्यक प्रशिक्षण र पात्रताको पक्षमा ध्यान पुगेन कि जस्तो देखिएको छ । पुराणको व्याख्या गर्दा आधिभौतिकी, आधिदैविकी र आध्यात्मिकीको सातत्यको सम्बन्धमा गर्नु पर्ने हुन्छ (“पुराणव्याख्या त्रिधा । आधिभौतिकी आधिदैविकी आध्यात्मिकी च ।”) भनिएको छ, तर त्यसो नगरी अभिधार्थ मात्र लिएर पुराणलाई कपोलकल्पित र अप्रामाणिक साबित गर्ने होडमा लाग्नेहरू पनि छन् ।
पुराण ग्रन्थका पाठ (अन्तर्वस्तु) हेर्ने हो भने पुराणहरूले निकै धेरै विषयवस्तुहरू समावेश गरेको पाइन्छ । तीर्थ–माहात्म्य, पर्व–माहात्म्य, दान–माहात्म्य, परोपकार–माहात्म्य आदिको जानकारी सर्वसाधारणलाई पुराणहरू मार्फत् हुने गरेको थियो । साथै मूर्ति–माहात्म्य, अवतार–माहात्म्य, विविध सम्प्रदायगत उपासना पद्धति, विविध पूजा पद्धति आदिलाई पुराणहरूले नै हिन्दू समाजमा स्थापित गराएका हुन् । दर्शन, सिद्धान्त, इतिहास, आख्यान, नाट्य, काव्यशास्त्र, सङ्गीत, चित्रकला, मूर्तिकला, यज्ञ पद्धति, अर्थशास्त्र, धर्मशास्त्र (स्मृति लगायत), नीतिशास्त्र, चरित्रविज्ञान, राजधर्मशास्त्र, सामाजिकी, कूटनीति, युद्ध, भैषज्यशास्त्र, गणित, भूगोल र अन्य पनि धेरै विधा वा विषयवस्तुको संयोजन पुराणहरूमा देखिन्छ । सर्वसाधारणका लागि दैनिक जीवनमा व्यवहारमा आइरहेका वा आउने विषयवस्तुहरू पनि पुराणमा प्रशस्त छन् ।
पुरानो सामाजिक सोपान र यथास्थितिलाई पुराणले प्रवर्धन गर्छ भन्दै पुराणको आलोचना गर्नेहरू पनि नभएका होइनन् । पुराणमा विचित्र पात्रहरू (जस्तै ः दुई वा तीन वा चार वा दशवटा टाउका भएका), सामान्यतया असम्भव लाग्ने घटना (जस्तै ः एक दम्पत्तिबाट हजारौँ सन्तानको जन्म, १० हजार वर्ष लामो तपस्या), मानवेतर प्राणीहरूको सामान्यतया अविश्वसनीय लाग्ने क्रियाकलापहरू, वर्तमान युगमा विज्ञानप्रविधिबाट प्राप्त ज्ञानसँग नमिल्दो वर्णन (जस्तै ः पुराणमा वर्णित भूगोल र हाल जानकारी प्राप्त भएको भूगोलको तुलना) आदिलाई उदाहरण लिई आलोचनात्मक विश्लेषण गरेर पुराण भनेको त अतिरञ्जनापूर्ण आख्यानका ठेली मात्र हुन् भन्ठान्नेहरू पनि छन् । पुराणको सान्दर्भिकता, उपयोगिता एवं महत्ताको अक्षुण्णताको लागि त्यस्ता आलोचना तथा सवाल पुराणमा निहित प्रायोगिक विषयवस्तुहरू र सर्ग, विसर्ग, मन्वन्तर, वंशावली तथा वंशानुचरित, स्वर्ग र नर्क आदिका वर्णनलाई नीरक्षीर विवेक गर्ने एवं कस्ता कुरा अनुकरणीय उपदेश हुन् र कस्ता कुरा ‘अर्थवाद’ मात्र हुन् भन्ने जान्नु आवश्यक हुन्छ ।
पुराण लेख्ने बेलामा पुराणका लेखकले लक्ष्यित पाठकवर्ग वा स्रोतावर्गको पात्रता अनुसार प्रस्तुतिमा काव्यिक प्रतिभा, कथानकको रोचकता, उपमा र लालित्य भरेका मात्र हुन्, सारमा वैदिक ज्ञान नै पुराणमा रहेको छ भन्ने मान्यतालाई लिने हो भने पुराणको अर्थापन गर्दा वेदानुकूल प्रतिमानानुसार नै गर्नु पर्ने हुन्छ । यसरी सत्य वा ऋत एवं धर्मको सर्वोच्चता यहाँ सर्वाधिक महत्त्वको हुनआउँछ । पुराणले स्थूल, सूक्ष्म र कारण जगत् बारे ज्ञान दिन्छन् र तुरीयको ज्ञान पनि यिनले गराउँछन् भन्नु पर्ने हुन्छ । पुराणलाई वेदको उपबृंहण मान्दा हाम्रो समाजमा आधिभौतिक, आधिदैविक र आध्यात्मिक जीवनको बोध गराउने साधन पनि थिए पुराणहरू भनी मान्नु पर्ने हुन्छ । पुराणलाई वेदका उत्तराधिकारी मान्दा पुराणमा कथानक बुन्दा जतिसुकै कुराहरू उल्लेख भएतापनि सारमा धर्म, अर्थ, काम र मोक्ष (पुरुषार्थचतुष्टय) को प्राप्तिका लागि पात्रता विकास गराउने परम्परागत माध्यम थिए पुराणहरू भन्नु पर्ने हुन्छ । यस्तो हो भने पुराणका उपदेश, सन्देश, मान्यता सार्वलौकिक, सार्वजनीन, सर्वहितकारी हुनु पर्ने आवश्यकता हुन्छ । पुराणमा लेखिएको वा बताइएको चाहिँ के छ त भन्ने जानकारीका लागि त पुराण नै पढ्नु पर्ने हुन्छ । प्रविधि, सूचना र अर्थतन्त्रको नवीन संयोजनले ‘ज्ञानको विष्फोट’ भइरहेको वर्तमान परिप्रेक्ष्यमा पुराण पढ्ने, पुराण बारे विचार विमर्श गर्ने र अर्थापन गर्ने अभूतपूर्व अवसर प्राप्त भएको छ । श्रुति (वेद), दर्शन, पुराणग्रन्थ र स्मृतिग्रन्थ आदिको तुलनात्मक विश्लेषण गर्न सक्ने अवस्थामा हामी छौँ ।
पुराण पढेर वा सुनेर त्यहाँ वर्णन गरिएका कुरालाई जस्ताको तस्तै (अभिधार्थमा) लिने हो वा कसरी अर्थापन गर्ने हो भन्ने सवाल बडो महत्त्वपूर्ण छ । पुराणका सार्वकालिक उपदेशमूलक श्लोक लिएर तिनका हितकारी सन्देशमा आह्लादित हुनेहरू एकातिर छन् र पुराणका सृष्टि–विषयक श्लोकलाई तर्कको कसीमा परख गरी तिनलाई आधुनिक विज्ञानसँग तुलना पनि गरेर असान्दर्भिक भन्ठान्नेहरू अर्कातिर छन् । पुराण भनिइएका कुनै ग्रन्थमा सार्वलौकिक, सार्वजनीन, सर्वहितकारी नहुने कुनै कुरा उल्लेखित पाइएमा के गर्ने ? पुराणमा लेखिएका कतिपय कुराहरू देश, काल, परिस्थिति आदिमा आएका परिवर्तनले अन्तर परेका रहेछन् भने के गर्ने ? उपर्युक्त प्रश्नहरूमा घोत्लिनु पर्ने कर्तव्य पनि हाम्रै हो । पुराण ग्रन्थहरूका स्थितिगत्यात्मक अर्थापनबाट नै समस्याको समाधान हुन्छ भने हाम्रा पुख्र्यौली ज्ञानका यी स्रोतहरू सान्दर्भिकता र उपयोगिता पुनः उजागर हुनेछ । त्यसो गर्न सकिएन भने पुराणहरूलाई कुनै साहित्यिक रचनाजस्तो मात्र भन्ठान्नेहरू वा पुराणलाई असान्दर्भिक, गतार्थ, प्रयोजनहीन बताउनेहरूको सङ्ख्या बढ्नेछ । हुन त पुराणहरूलाई नितान्त आस्था, विश्वास, भक्तिका सामग्री मानौँ र परीक्षण, तर्क–वितर्क, खण्डन–मण्डनमा नतानौँ भन्नेहरू पनि छन् । वर्तमान युगीन चेतनाले चाहिँ पुराणहरूका स्थितिगत्यात्मक अर्थापन मागेको छ ।
नेपालमा हालसालैका वर्षहरूमा मौलिक रैथाने धर्म, संस्कार, संस्कृति, सभ्यतासँग जोडिएका वाङ्मय बारे धेरै सरोकार, चासो, अभिरुचि बढेको देखिन्छ । वेद र वैदिक परम्पराका अनेकौँ ग्रन्थहरू, बौद्ध ग्रन्थहरू, किरात मुन्धुम, बोन ग्रन्थहरू र लोकवार्ताहरूको अनुवाद र प्रकाशन तथा प्रसारण हालसालैका वर्षहरूमा जति धेरै मात्रामा भइरहेको छ, यति धेरै मात्रा (परिमाण) मा नेपालमा पहिले भएको थिएन । पुराण ग्रन्थहरूको प्रकाशन, प्रसारण, वाचन, श्रवण, पठनको मात्रा पनि बढेको छ । अनेकौँ पुराणहरूका नाम (शीर्षक) मात्र सुनेर थप वास्ता नगरी चुपचाप बस्ने प्रवृत्तिलाई त्यागेर कैयौँ व्यक्तिहरूले पुराणमा के छ भनेर खोज्न थालेका छन् ।

सन्दर्भ सामग्री ः
अधिकारी उपाध्याय, निर्मलमणि । वि.सं. २०७६ । वेदको सामान्यज्ञान । काठमाडौँ ः जरो किलो प्रतिष्ठान नेपाल ।
अधिकारी, रुद्रमणि । वि.सं. २०१८ । हिन्दू–धर्म मर्म–विचार । तनहुँ ः जुक्तराज शाही ठकुरी ।
अधिकारी, रुद्रमणि । वि.सं. २०२९ । संक्षिप्त साङ्ग–श्रुति परिचय । पोखरा ः लक्ष्मी प्रेस ।
गैरोला, वाचस्पति । सन् २००३ । संस्कृति साहित्य का इतिहास । वाराणसी ः चौखम्बा विद्याभवन ।
ढकाल, वेणीमाधव (टीकाकार एवं सम्पादक) । वि.सं. २०७३ । श्रीमद्देवीभागवत महापुराण (प्रथम खण्ड) । काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
द्विवेदी, शिवप्रसाद (व्याख्याकार) । सन् २०१० । श्रीमद्देवीभागवतम् (भाषाभाष्योपेतम्) । वाराणसी ः चौखम्बा विद्याभवन ।
बनर्जी, एस.सी. । सन् २००४ । स्टडीज् इन द महापुरानज् । दिल्ली ः पुस्तक महल ।
सिंह, सुदर्शन । सन् १९५० । हिंदू–संस्कृति और पुराण । कल्याण हिन्दू संस्कृति अंक (पृ. २९४—३०५) ।


प्रकाशित : २०७८ बैशाख ५, आईतवार

धेरै पढिएको

ताजा समाचार