अपाङ्गता भएका व्यक्तिले यसरी योगदान पुर्याउन सक्छन्

दिपक भण्डारी

अपांगता भएका व्यक्तिहरु पनि यहि समाजका प्रतिनिधिहरु हुन् । हामीहरुप्रति हेयको दृष्टिकोण मात्रै नराखिदिए पनि ठुलो समस्याको समाधान हुन्छ ।

आवासमा रहने अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामुहिक आवासको व्यवस्था गर्नुपर्छ भनेर पछिल्लो लेखमा भनिएको छ । सामुहिक आवासको व्यवस्था केवल अपाङ्गता भएका व्यक्तिको सुविधाको लागि मात्रै नभएर यो राज्य, यो समाजप्रतिको कर्तव्य निर्वाह गर्न समेत उपयोगी हुन्छ । यो उनीहरूको कर्मथलो पनि हो । अपाङ्गताको अवस्था र उनीहरूको शारीरिक र बौद्धिक क्षमता तथा उनीहरूको रुचि अनुसारको क्षेत्रमा आबद्ध गराउन सकिन्छ ।

  • हातले मात्रै काम गर्न सक्नेकालागी आवास स्थलमानै रहेर मैन बत्ती, धुप, कपासका बत्ती बनाउने तालिम दिएर एकै छातामुनि पर्याप्त उत्पादन गर्न सकिन्छ ।
  • सिलाई बुनाई सम्बन्धि तालिम दिएर तयारी पोसाक उत्पादन गर्न सकिन्छ । तुलनात्मक रुपमा सस्तो उत्पादन लागत पर्नसक्छ भने विकसित राष्ट्रहरुमा अपाङ्गता भएका व्यक्तिहरुद्वारा उत्पादित कपडा निर्यात गर्न ट्यारिफ सुविधा प्राप्त गर्नसकिन्छ ।
  • नेपालका बनजंगलमा सालको पात प्रशस्त पाइन्छ तर अचेल प्लास्टिकका प्लेटहरुको व्यापक प्रयोग हुने गरेको छ । सालको पातबाट आकर्षक प्लेटहरु उत्पादन गर्न सकिन्छ । जसको माग स्वदेश र विदेशमा प्रशस्त छ ।
  • पर्यावरण मैत्री उत्पादनले प्लास्टिक जन्य हानिकारक उत्पादनलाई प्रतिस्थापन गर्न सकिए जलवायु परिवर्तनको विरुद्धमा स्थापित राष्ट्रिय/अन्तरराष्ट्रिय संस्थाहरुको सहयोग प्राप्त गर्न सकिन्छ।
  • आवास स्थल नजिक कृषि उद्यमशीलताको पारिस्थितिक प्रणाली नै निर्माण गर्न सकिन्छ । गाई – भैंसी पालन गरेर त्यहाँबाट दुध उत्पादन गर्न सकिन्छ । दुधबाट बन्ने विभिन्न परिकारहरु त्यहीं निर्माण गर्न सकिन्छ । गोबरबाट बन्ने प्राङ्गरिक मल र त्यसको प्रयोग गरेर प्राङ्गरिक खेतीपाती गर्न सकिन्छ । एकै स्थानमा सहयोगापेक्षीको रुपमा रहेका अपाङ्गता भएका व्यक्तिहरु कर्मठ नागरिकको रुपमा रुपान्तरण गराउन सकिन्छ । खाद्यान्न समेत विदेशबाट आयात गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग पुग्छ।
  • बौद्धिक क्षमता भएका व्यक्तिहरुलाई सामुहिक आवासबाटै अध्ययन अनुसन्धानमा लगाउन सकिन्छ । विज्ञान प्रविधिको अहिलेको युगमा युरोपको कुनै कम्पनीको हिसाब किताब नेपालमा बसेर गर्न सकिन्छ । स्वदेश तथा विदेशका कम्पनीहरुको लागि कम्प्युटरबाट प्रोग्रमिङ्ग गरेर सफ्टवेयर तथा वेबसाईट निर्माण गर्ने कार्य गर्न सकिन्छ । डिजाईनिङ्ग सम्बन्धि सम्पूर्ण काम नेपालमै बसेर गर्न सकिन्छ ।
  • बेलायतका प्रशिद्ध वैज्ञानिक स्टेफिन हकिङ्गलाई प्रविधिको प्रयोग गरेर उनको बौद्धिक क्षमताको भरपुर उपयोग गरिएको थियो । त्यस्तै गरी नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको महत्वपूर्ण समय र उर्जा दैनिक जीवनयापनमा आइपर्ने समस्या समाधान गर्नुपर्ने बाध्यतालाई हटाइदिने हो भने नेपालमा पनि एक से एक अनुसन्धानकर्ता, उद्यमी, सर्जकहरु जन्मिनसक्छन् जसले नेपालको नाम विश्व जगतमा चम्काउन चम्काउनेछन् ।

प्राथमिक कुरा अपाङ्गता भएका व्यक्तिहरु आसे प्रवृतिका होइनन्, अन्यलाई भन्दा जीवनयापन धेरै वटा बाधा आइपर्ने भएकोले पर्याप्त क्षमता देखाउन नपाएका मात्रै हुन् । यदी दैनिक जीवनयापन मात्रै सहज बनाइदिने हो भने हामी अपाङ्गता भएका व्यक्तिहरु पनि राष्ट्रको निम्ति योगदान गर्न सक्षम छौं।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.