खुवालुङ बचाउन र गौर हत्याकाण्डका दोषीलाई सजाय दिन मौलिक जरोकिलो पार्टीको प्रदर्शन

काठमाडौँ, ७ चैत्र । मौलिक जरोकिलो पार्टी वाग्मती प्रदेशले माइतीघर मण्डलामा कोणसभाको आयोजना गरेर किरात समुदायको मौलिक आस्थामा आधात पुर्याउने गरी खुवालुङ फुटाउने निर्णय गरेकोमा विरोध गरेको छ । कोणसभामा पार्टीले आजैको मितिमा १४ वर्षअघि गौरमा भएको हत्याकण्डका दोषीहरुलाई सजाय हुनुपर्ने माग गरेको छ ।
कोण सभालाई सम्बोधन गर्दै मौलिक जरोकिलो पार्टी वाग्मति प्रदेशका अध्यक्ष दिपेश न्यौपानेले नेपालको मौलिक ज्ञानपरम्पराबारे थाहा नभएका र आधुनिक विज्ञानको पनि सम्भावना थाहा नपाएर रैथाने जनसमुदायको आस्थाको केन्द्र खुवालङ मासेर मात्रै विकास हुने भ्रम परेको बताउनुभयो । विद्यमान संरचनाको ध्वंसबाट मात्रै नयाँ कुराको अस्तित्वमा आउने खोटपुर्ण विचारधारा भएका व्यक्तिहरु सत्तामा रहेको कारण विकासको जुनसुकै परियोजनामा यहाँका मौलिक सम्पदा र आस्थाका केन्द्रहरुलाई मास्ने नियोजित प्रपञ्च रचिने गरेको उहाँले बताउनुभयो । यस प्रकार नेपालका जुनकुनै समुदायको आस्थाको केन्द्रमा हुने आक्रमणको मौलिक जरोकिलो पार्टीले अवलम्बन गरेको राज्यराष्ट्रको सिद्धान्त विपरित भएकोले सदैव विरोध गर्ने न्यौपानेले बताए ।
उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्ने कोसी नदिको खुवालुङ ढुंगा किरात सभ्यता र मुन्धुमका मिथक जोडिएको छ । सरकारले जेट बोट चलाउन भन्दै उक्त खुवालुङ फुटाउने योजना बनाएको छ ।
कोणसभामा मोलिक जरोकिलो पार्टी लुम्बिनी प्रदेश संयोजक प्रकाश श्रेष्ठले विविधतायुक्त नेपालमा मौलिक राजनीतिक सिद्धान्तलाई बिर्सेर विदेशी सिद्धान्तको पछि लागेर नेपालमा विभिन्न समस्याहरु बल्झिएको बताउनु भयो । राज्यराष्ट्रको रुपमा युगौदेखि अस्तित्वमान सर्वभौमसत्ता सम्पन्न विविधतायुक्त राष्ट्र नेपाललाई असंगत तरिकाले राष्ट्रराज्यको अवधारणामा नै आधारित दुई राष्ट्रिय र बहुराष्ट्रिय राज्यको आधारमा हेरिँदा आजैको दिन गौरमा नृसंश हत्याकाण्ड मच्चिएको स्मरण गर्नुभयो । हिजो मर्ने र मारिने समूहका नेताहरु अहिले एउटै पार्टीका अध्यक्ष भएको उल्लेख गर्दै श्रेष्ठले यस प्रकारको हत्याहिंसामा दोषी सबैलाई सजाय दिलाएर दण्डहीनताको अन्त्य हुनुपर्ने बताउनु भयो ।
विविधतायुक्त नेपाली समुदायको विविध आस्थाको सम्मान र विविधतामा एकताको अवधारणालाई सदृढपार्ने सिद्धान्त र दर्शनलाई मूलप्रवाहीकरण गर्नु आजको नेपालको तड्कारो आवश्यकता भएको मौलिक जरोकिलो पार्टीका केन्द्रीय समिति सदस्य यमनाथ उपाध्यायले बताउनुभयो । नेपालको मौलिक ज्ञानपरम्परामा आधारित रहेर युगद्रष्टा डा. निर्मलमणि अधिकारीले सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्तको अभिनिर्माण गर्नुभएको उल्लेख गर्नुभयो । नेपालमा विद्यमान सम्पूर्ण समस्याको वास्तविक कारण कपूतन्त्र भएको उल्लेख गर्दै कपूतन्त्रको समूल अन्य गर्ने सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइ जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीेले कोणसभाको क्रममा खुवालुङ संरक्षण गर्न र गौर हत्याकाण्डका दोषीलाई कार्यवाही गर्न प्लेकार्ड पनि प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.