कोरोनाको कोकोहोलो – भाग ४

मित्रलाल शर्मा

छटपटी र कृषिको चर्चा
एकान्तबासको तेश्रो दिन । अलि छटपटि लाग्न थालिसकेको थियो । पाँच बजे नै निद्राले छोड्यो । २० मिनेट जति योग गरेँ । एक गिलास तातोपानी कागती लिएँ । केहि बेरमा काँढा पानी अनि चिया पनि । बिहानका एक डेढ घण्टा त यी तीन थरी तरल पदार्थ खाँदा नै बित्छ ।
दारी निकै लामो भएको थियो । आज काटुँजस्तो लाग्यो । दारी काटेर चिटिक्क परेँ । केहि अनलाइनमा आएका समाचारहरु नियालेँ । हिजो भएको मन्त्री मण्डल हेरफेर, रक्षामन्त्रीको पद सकिएको, एकजना पूर्व प्रधानमन्त्रीले वर्तमान प्रधानमन्त्री र दुईजना पूर्व प्रधानमन्त्रीहरुलाई ९ अर्ब घोटाला गरेको आरोप लगाएको । त्यसलाई काउन्टर गर्दै सत्ताधारी पार्टीका प्रवक्ताले विज्ञप्ति मार्फत चुनौती दिएकोदेखि महिनौँदेखि कोरोनाका कथाहरुलाई व्यानर न्यूज बनाएर आफ्नो पत्रकारिता चलाएका खबरहरु हेरेँ ।
बिहान उठ्दा त जीउ अलि दुखेको थियो । योग, स्नानआदिपछि अलि हल्का भएको पाएँ । तर मेरो छटपटाहट भने कायमै थियो । यसरी एउटा कोठाभित्र बन्दी बनेर बस्न परेकोमा हुनसक्छ । मेरो एकै ठाउँमा थपक्क बसिरहने बानी कहिल्यै नभएका कारण पनि मलाई छटपटाहट भएको हुनसक्छ । सानोमा पनि म निकै चुलबुले स्वभावको थिएँ भन्नुहुथ्यो हजुरआमाले । अहिले मलाई औधी माया गर्ने हजुरआमाको त्यो भनाई पनि स्मरण आइरहेको छ ।
हिजोको आइपीएल खेलमा नेपाली क्रिकेट खेलाडी समेत भएको दिल्ली क्यापिटल टिमले जितेछ । सन्दिप लामिछानेलाई नौ वटा म्याच खेल्दा समेत नखेलाएको भएतापनि दिल्लीको टिमप्रति अलि सहानुभूति धेरै नेपालीको छ होला ।
आजका समाजिक सञ्जालहरुमा एकजना पूर्व प्रधानमन्त्रीलाई सर्प पाल्न प्रदेश सरकारले समेत १७ करोड बढि दिएका कुरा, पहिले नै केन्द्र सरकारले ७२ करोड दिएका कुरादेखि सत्ताधारी पार्टीको कर्णाली प्रदेश देखि नियुक्तिमा भागबण्डाका कुरा, सत्ताधारीको पार्टी भित्रको टिके नियुक्तिका कुराका अनेक कुण्ठाहरु पोखिएका थिए ।
मलेशिया, युक्रेन र दुबइबाट भाइहरुले मेरो स्वास्थ्यका बारेमा आज चासो राखे । यत्तिकैमा दाङ तुलसीपुरबाट कृषिमा राम्रो उद्यमशीलता हासिल गरेका सहृदयी मित्र रामचन्द्र खड्काले पनि मेरो स्वास्थ्यको बारेमा चासो राख्नुभयो ।
उहाँ अध्ययन गर्ने समय मै देशमा आतङ्क मच्चाउनेहरुको झाँसामा लागेर उनीहरुको सेना बन्नु भएको र पछि सत्ताको भर्याङ चढेपछि उहाँजस्ता भुइँमान्छेहरु भुइँ मैं छुटेका मध्ये एक हो । विदेशतिरको हण्डर खाएर उहाँ नेपाल आउनु भएको र आफ्नै श्रोत बाहिरी ऋण आदि गरेर भाडामा जग्गा लिएर कागती खेती गर्नु भएको छ । उहाँको त्यो कागती फर्ममा गत वर्ष पनि म पुगेको थिएँ भने गत महिना फेरि पुगेर एक रात बिताएर फर्केको थिएँ ।
उहाँको त्यो परिश्रम लगनशीलतालाई देखेर र सुनेर फोटो खिच्ने धेरै कृषि विज्ञहरु, जनप्रतिनीधिहरु, पत्रकारहरु र सरकारी कारिन्दाहरु पुगेका छन् । पाँच दर्जन गोबीमा दशौँ लाख अनुदान दिलाउने र त्यसरी अनुदान लिएर पचाउने यो देशमा उहाँजस्ता वास्तविक कृषि उद्यमीहरुले आजसम्म पनि राज्यबाट उपेक्षित नै हुनु परेको छ । उहाँले यो एकान्तबास कृति लेख्ने दिनसम्म कुनैपनि ठाउँबाट अनुदान नपाएको मेरो पछिल्लो भेटमा र आज फोनमा समेत बताउनु भएको छ ।
यो मौसममा मात्रै सत्तरी क्वीन्टल कागती बेच्नु भएका उहाँलाई अनुदान पाउनका लागि सत्ताधारी पार्टीको सदस्यता काटेर कार्यकर्ता बन्नै पर्ने बाध्यकारी शर्त पटक पटक राखिएको रहेछ । नेपालमा यस्तो शर्त राख्ने र कार्यकर्तालाई मात्रै अनुदान दिने काइतेहरुको जतिसुकै भ्रात्र्सना गरे पनि कमै हुन्छ । त्यो कुरा सुन्ने जो कोहिलाई पनि यो देशको सरकार प्रति नै घृणा अझ बढेर गएको छ ।
बैङ्कहरुले कृषिमा कम्तिमा पनि १५ प्रतिशत कर्जा लगानी गर्नुृपर्ने व्यवस्था पनि उहाँका लागि आकाशको फल नै बन्यो । पटक पटक बैङ्कलाई अनुरोध गरेपनि धितोको लागि घरजग्गा नभएकोले गर्दा बैङ्कहरुले पनि फोश्रो आश्वासन बाहेक केहि दिन सकेनन् ।
नेपाल त कृषि प्रधान देश हो । आजबाट होइन कम्तिमा पनि मैले जानेदेखि त यहि नै सुनेको छु । मैले कृषि प्रधान देश सुन्न लागे पछि मात्रै झण्डै आधा सय सरकारहरु बनिसकेका छन् । तीन वटा त संविधान बनेका छन् । पाँचवटा त व्यवस्थाहरु आएका छन् । मैले आफैले चिनेका, आफ्नै आँखाले देखेका भुइँफुट्टाहरु मन्त्री भएका छन् ।
हिजो सम्पत्तिको नाममा आफ्नो ज्यान मात्रै भएकाहरु बीना कुनै जागीर, बिना कुनै उद्योग व्यवसाय, आज कोहि करोडौँका र कोहि अरबौँका मालिक भएका छन् । यो आर्थिक विपन्न देशका राजनीतिकर्मीहरु कसरी यस्ता धनवान भए ? यसको चासो र चिन्ता त लाग्ने नै रहेछ ।
नेपालको कृषियोग्य जमिन दिन प्रतिदिन नासिँदै छ, मासिँदै छ । नयाँ नयाँ शहर बसाउने नाममा, विभिन्न विकासका नाममा घडेरीका लागि भन्दै जमिनको खण्डीकरण व्यापक गरिएको छ । यो पछिल्लो एक ढेड दशकमा मात्रै तराईको लाखौँ हेक्टर जमिन प्लटिङ्क गरिएका छन् । यो जमिनको खण्डीकरणका मुख्य गरि दुईवटा कारण देखिएका छन् ।
पहिलो त आतातायीहरुले सृजना गरेको द्वन्द्वका कारण गाउँबाट मानिसहरुको पलायन र अर्को गाउँमा भविष्य नदेखेका युवा र वैदेशिक रोजगारीका कारण शहरमा अवसर देखेको वर्ग ।
यी दुईकारणको चरणबद्ध तरिकाले यसरी विकास भयो कि हाम्रा कृषियोग्य र बढि उब्जाउ हुने जमिनहरु मसिन एकदशक पनि लागेन । यहाँ त जमिन मात्रै मासिएन वास्तविक खेतीपाती गर्ने मानसिकता पनि मासिँदै गयो ।
नेपालको पुर्नजागरणका नायक यो देशका निर्माता श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह त आज हामीबाट ओझेल भएको अढाई सय वर्ष बढि भै सकेको छ तर उहाँले आफ्नो जीवनको अन्तिम क्षणमा यो देशलाई दिएको उपदेशमा भनिएको छ ।
‘षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानी चलाउनु, गह्रो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई अवाद गर्नू’
अर्थात खानी भएको ठाउँमा यदि गाउँबस्ती रहेछ भनेपनि त्यस गाउँबस्तीलाई अन्यत्र सारेर त्यहाँ खानी चालु गर्नु र कहिँ खेतीयोग्य जमिन (गह्रो परेको) समथर जमिन छ उब्जाउ हुने जमिन छ भने त्यहाँ यदि गाउँ बस्ती छ भने पनि अन्न्यत्र सारि त्यहाँ कुलो (सिँचाइ) को व्यवस्था गरेर खेत बनाइ उत्पादन गर्नु गराउनु ।
यो उपदेशलाई मनन गरेर त्यहि अनुसारको नीति बनाउने र कार्यान्वयन गर्ने मात्र पनि काम नेपालका सरकारहरुले गरेको भए आज नेपाल कृषिमा मात्रै होइन खानीजन्य पदार्थहरुमा र उद्योगमा समेत आत्मनिर्भर भएको हुने थियो । तर यहाँ त ती उपदेशहरुलाई गाली गर्नुमा नै निकै क्रान्तिकारी कदम ठानियो । देशको जमिन खण्डीकरण गर्नेहरु नै निकै विकास प्रेमी कहलाइए । उनै धनवान बलवान बनेर गए । यहिँबाट नेपालको कृषिको दुर्दशा शुरु भयो ।
क्रान्तिको नाममा देशका विभिन्न ठाउँमा खेती योग्य जमिनहरु, जमिन्दारहरुका जग्गा कब्जाका नाममा झण्डा गाडेर कब्जा गराइयो र त्यहाँ बस्ती बसाउने काम भयो । जमिन्दारहरुलाई त्यो जमिनको आम्दानीबाट मात्रै बञ्चित गराइएन उनीहरुलाई अब यो जमिन गरीब र सुकुम्बासीलाई वितरण गरिन्छ तिमीहरुले पाउँदैनौ, तिमीहरुको जीउ ज्यानको सलामती चाहन्छौ भने थप पैसा पनि देओ भनेर थर्काइयो । यो आतातायी काम गर्नेहरुले तराईमा दुईचार बिघा जमिन हुने हुन् या पहाडतिर बीस पचास रोपनी जग्गा हुने र गतिलो घरबास हुनेहरु सबैलाई निकै डर, त्रास र आतङ्कको वातावरणमा राखे । हिजोका व्यैयक्तिक दुश्मनीलाई पनि यस्तै बेलामा बदला लिने काम पनि गर्दै गाउँगाउँमा त्रासको वातावरण सृजना गरे । यसका लागि कतै संस्कृतिलाई, कतै पूजापाठलाई, कतै परम्परागत रीतिथितिलाई त कतै रैथाने मान्यतालाई भत्काउने काम भयो । कथित लाल सेना तयार गर्ने नाममा जर्बजस्ती नाबालकहरुलाई अपहरण गरेर बन्दुक बोक्न तयार गराइयो । आफ्ना सन्तानलाई यस्तो कुत्सित घृणावादी र हिंसात्मक कार्यमा लगाउन नचाहनेहरुमाथि जीउ ज्यानको नै खतरा भएपछि ग्रामीण जीवनमा कृषिलाई पवित्र पेशाका रुपमा इमान्दारीसँग अपनाएकाहरुलाई आफ्नो र आफ्ना सन्तानको सुरक्षाको चिन्ताले सताउन थाल्यो । आफ्नो थातथलो छोड्न बिवश बनायो । यसरी पलायन भएकाहरु र वृद्धवृद्धाहरु शहरका डेरामा पुगे भने कतिपयका सन्तानहरु विदेशको भूमरीमा होमिए ।
ती पलायन भएकामध्येका केहि रकमको जोहोजाम भएकाहरुले शहरमा घरजग्गा किने भने वैदेशिक रोजगारीमा गएकाहरुले पनि शहरतिर नै घरबासको सोच बनाए । त्यो त्रासदीपूर्ण बनाइएका गाउँहरुमा फर्किने मन हत्तपत्त कसैको भएन । गाउँहरु खाली मात्रै भएनन् ती आतातायीहरुको जंगलराजमा परिणत हुँदै गए ।
नेपालको राजसत्तामा आफ्ना मान्छेहरु पुर्याउने योजना अन्र्तगत चलाइएको अभियानमा विदेशीहरुले नेपालको तत्कालिन सत्ताबाट बाहिर भएका काँग्रेस एमाले र नियोजित योजनामा लागेको आतातायीहरुको बीचमा दिल्लीमा सहमति गराएर नेपालमा राज्यसत्ता मात्रै परिवर्तन गराइएन नेपाली अस्मिताको उछितो काढ्ने पुरा ब्लूप्रिन्ट तयार गरे । जनतामा भ्रम छरेर विदेशीको वाद र प्रतिमानमा काम गर्नेहरुलाई जस्केलाबाट सत्तामा छिराइयो । यिनीहरुको सत्तारोहणपछि हिजो जमिन कब्जा गरेको भनेर झण्डा गाड्नेका नाइकेहरु २०६३ पछि तिनै जग्गाको दलाली गर्ने काम गरे । आफ्नो थातथलो छोडेकाहरु र जमिनबाट वर्षौसम्म आयस्था नपाएकाहरुलाई केहि नहुनु भन्दा कानो मामा निको भने झैं गुमिसकेको जमिनको धेरथोर रकम आउँछ र शहरमा केहि व्यवस्था गर्न सकिन्छ भन्ने आशामा तीनै जग्गा दलालहरु कै मूल्यमा जमिन छोडि दिए । फेरि कतै यो सम्झौता टिकेन र पुनः उस्तै अवस्था आयो भने यहि पनि आउँदैन भन्ने डरको मनोविज्ञानले निकै काम गर्यो ।
दशवर्षसम्म देशको ढुकुटीमा डाँका हालि बसेका सत्ताधारीहरु र देशका विभिन्न बैङ्क र जनतालाई बन्दुकको नाल देखाएर लुट्ने आतातायीहरुले जमा पारेको सम्पत्तिलाई बिस्तारै जग्गामा लगाएर रातारात बढाउने मौका पाए । एकातिर त्रास सकिने आशामा लगानीका लागि जमा गरि राखेको रकम स्थायी सम्पत्ति (जमिन) मा लगाउनु नै सुरक्षित मान्नेहरु थिए भने अर्कोतिर कालोधनलाई जग्गामा लगाएर कमाउने मौका ठानेकाहरु थिए । जसका कारणले पनि जमिनको कारोबार ह्वात्तै बढ्न गयो । बिदेशतिर गएकाहरुको पनि शहरतिर नै घरजग्गा जोड्ने दौड चल्यो । यसले गर्दा शहरका छेउछाउ, राजमार्गका छेउछाउमा रहेका तमाम कृषियोग्य जमिन धमाधम घडेरीका लागि खण्डिकरण हुन थाले । यो क्रम २०६३ साल देखि २०७२ सम्म अति नै बढेर गयो । लाखका जमिनहरु करोडमा पुगे । २०७२ सालको महा भुकम्पले काठमाण्डौँ असुरक्षित ठानेकाहरुले तराईका खेतहरुमा कालान्तरमा घडेरी बनाएर कमाउने ध्याउन्नमा लगानी गरे ।
२०७२ सालमा संविधान बनेपछि सङ्घीयताको नाममा प्रदेशहरुको राजधानी र स्थानीय पालिकाहरुको केन्द्रको निक्र्यौल गर्न समेत सत्ताधारी पार्टीका नेताका जग्गा घडेरी बनाउन र पैसा कमाउन पाउने गरि चलखेल भए । काठमाडौँले भूकम्पको पीडा बिर्सिन छ महिना पनि लागेन । विभिन्न ठाउँमा स्मार्ट सिटीको घोषणा गर्ने लहरले झन खेतीयोग्य जमिनको सर्वनासको यात्रा अझ भयाभह बनायो । मौलिकतालाई तिलाञ्जली दिन अलिकति पनि नसोच्ने नेपाली व्यवस्थाको नीति यसले जन्माएको नियतका कारण समाज आधुनिकता र उपभोक्तावादको दास बन्न थाल्यो । हाइस्कूल पढेपछि खेती गर्नु हुन्न भन्ने नेपालको शिक्षा र समाजको उपदेशले जीवन भरी कमाएर जम्मा जम्मी एउटा घर शहरको छेउछाउमा नै बनाउनुपर्छ भन्ने धेरैको अभिलाशा बन्यो । जसको परिणाम नेपालको कृषियोग्य भूमिको विनाश तिव्र भयो । नेपाल र नेपालीत्वलाई सधैँ गाली गलौच गर्नमा क्रान्तिकारी भएको अनुभव गर्ने सत्ता सञ्चालकहरुका लागि बडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको उपदेशको न अर्थ भयो न आधार ।
२०६५ सालबाट नै विभिन्न बहाना बनाएर उपचारका नाममा, कतै सहकारीका नाममा, कतै सांसद विकासकोषका नाममा, कतै स्वरोजगारका नाममा कार्यकर्तालाई राज्यको ढुकुटी बाँड्ने परिपाटीकले व्यापकता लियो । हिजो बैङ्क लुटेर गाडेका धनहरु पनि शहरतिर नै उदाउन थाले । देशमा उद्योग व्यवसाय गरेर बसेका केहि उद्योगपतिहरुले समेत उत्पादन गर्नमा भन्दा त्यो उद्योगले ओगटेको जमिन घडेरी बनाएर बेच्ने र समान बाहिरबाट ल्याएर आफ्नो व्यापार चलाउने मै रुचि बढाए । यो बिन्दुमा सत्ता र व्यापारिको मतो मिल्यो । यसैको जगमा समानुपातिकमा छानिने, विभिन्न ठाउँमा पार्टीबाट टिकट पाउने, विभिन्न नियुक्तिमा जाने काम उद्योगी र व्यापारिले गर्न थाले । गर्दागर्दै राजनीतिक पार्टीका नेता र व्यापारीको संयुक्त लगानीबाट नेपालको राज्यसत्ता चल्न थाल्यो । यसैको कारण देशमा ठूला ठूला काण्डहरु, भ्रष्टाचारहरु, वाइड बडी देखि यति ओम्नी का कथाहरु बने ।
पछिल्लो चरणमा त भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय एउटै भएपछि देशमा कृषि जमिनलाई घडेरी बनाउने तजबीज होस या सहकारीका नाममा अनुदान या फेरि गरिबी निवारणका नाममा गरिने काम सबैमा पहुँच एकै ठाउँबाट र एउटै मन्त्रीको तोक आदेशहरुले हुने भएपछि सत्ताका वरिपरी भ्रष्टाचारको माउरीको चाको लागेको छ ।
हिजोको आर्दश किसान जसले आफ्नो घर परिवारको लागि वर्षभरि खान पुग्ने अन्नपातको आफै उत्पादन गथ्र्यो, आफ्नोलागि दूध दहीको मेलोमेसो मिलाउँथ्यो, आफ्नो खेत रुखो नहोस् भनेर स्याउला, झारपात आदी मिलाएर त्यो गोबर मलखादमा मिलाएर मलको व्यवस्था गथ्र्यो त्यो किसान आज हरेक कुरामा आश्रित किसान भएको छ । अब उसको अवस्थाले उसलाई किसानको दर्जामा पनि कसरी राख्ने भन्ने प्रश्न खडा भएको छ । किन कि आज उसँग गाइभैसी छैन । उसँग हल छैन । उसँग खेतबारीमा हाल्ने मल छैन । उसँग कुनै बीउ सङ्ग्रहित छैन । अनि उ कसरी किसानमा गनिएको छ ? कसरी उसको स्वाभिमानले दिन्छ कि उ किसान हुँ भन्न ?
यहाँ त शहरमा जन्मेर शहरमा हुर्केर व्यापार गर्ने, वकालत गर्ने, जागीर गर्ने, शिक्षण गर्ने, बीना पेशा व्यवसाय राजनीति मात्रै गर्ने, खेतमा टेक्दा हिलो लाग्ला झैं गर्ने, गाउँ जाँदा धानखेत फाँडेर हिलो माथी कार्पेट बिछाएर टेक्ने अनि गमलामा धान रोपेर फोटो खिचाएर किसान हुँ भन्ने, सबै पेशा लुकाएर विवरणमा पेशा कृषि लेखाउने , अनुदान र राज्यको ढुकुटीमा किसानको नाममा डकैती गर्न कृषि फार्म दर्ता गरेर काम नगरीकन पहुँचको भरमा कागज मिलाएर तर मार्ने र यस्ता अनेकानेक प्रपञ्च गर्ने यो प्रचलनले व्यापकता पाएको छ । त्यस्तालाई आजको राज्यसत्ताले सम्मान गरेको छ ।
क्रमशः….

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.