हितोपदेशः ४

आर्चाय तिलक प्रसाद लुइटेल

बालकहरुलाई नैतिक र राजनीतिक शिक्षा दिने उद्देश्यले तयार गरिएको हितोपदेशका रचनाकार नारायण पण्डित हुन् । राजाका छोराहरुलाई राजनीतिको शिक्षा दिने उद्देश्यले उनले यस ग्रन्थको रचना गरेका हुन् भन्ने आशय प्रस्तावना खण्डमा आएको छ । ग्रन्थमा पशुपक्षीलाई कथाका पात्र बनाएर संवाद गराइएको छ । पठनमा रुचिकर होस् भनेर र पशुप्राणीप्रति मानिसको सद्भाव रहोस् भनेर पनि यसो गरेको हुन सक्छ । यस पुस्तकमा कथा र नीतिश्लोक छन् कथाहरु अनुच्छेदका रुपमा आएका छन् भने श्लोकको भावार्थलाई सङ्ख्या दिएर सङ्केत गरिएको छ । पुस्तकको यस पटकको अंश यस्तो छ—
अर्को पनि— पुण्यात्माहरुप्रति पशुप्राणीको पनि विश्वास देखिन्छ । सज्जनहरूको स्वभाव सज्जनताबाट विमुख हुँदैन ।८५
सज्जन रिसाए पनि कहिल्यै मनमा विकृति रहँदैन । परालका आगाले समुद्रलाई तताउन सक्दैन ।८६
हिरण्यकले भन्यो— तिमी चकचके छौ, चकचकेसँग कहिल्यै पनि स्नेह गर्न सकिँदैन ।
भनिएको छ— बिरालो, भैँसी भेडो, काग र छुचो मानिसलाई विश्वास गर्दा हार्नुपर्छ त्यसैले तिनीहरूको विश्वास गर्नु हुँदैन ।८७
अर्को कुरो— तपाईं हाम्रा शत्रुपक्षमा हुनुहुन्छ ।
यसरी पनि भनिन्छ— असल नियमले बाँधे पनि शत्रुसँग सन्धि गर्नु हुँदैन । धेरै तातेको भए पनि पानीले आगोलाई निभाएरै छोड्छ ।८८
विद्याले सम्पन्न भए पनि दुष्टलाई त्याग नै गर्नुपर्छ । मणिले सुशोभित भएका सर्प डर लाग्दा हुँदैनन् र ?।८९
नसकिने जे हो त्यो सकिँदैन र सक्ने जे हो त्यो अवश्य सकिन्छ । पानीमा गाडी चल्दैन र जमिनमा डुँगा पनि चल्दैन ।९०
ठुलो आशाले जो शत्रुमाथि र आफूलाई मन नपराउने पत्नीमा विश्वास गर्छ उसको बाँच्ने दिन सकियो ।९१
लघुपतनकले भन्यो— मैले सबै कुरो सुनेँ । तर पनि मेरो यो सङ्कल्प हो । तिमीसँग अवश्य मित्रता गर्छु । नभए म भोकै बसेर आत्महत्या गर्नेछु ।
त्यसरी नै—
माटाको घैलो जस्तो दुर्जन सजिलै फुट्ने र जोड्न नसकिने हुन्छ तर सुनको घडा जस्तो सज्जन चाँडै फुट्दैन र फुटे पनि सजिलै जोड्नन सकिन्छ ।९२
किनभने— सबै धातुहरुलाई पगाल्नाले, चराचुरुङ्गीलाई संस्कारले मूर्खलाई डर र लोभले र सज्जनलाई भेटघाट गर्नाले एकता गराउँछ ।९३
किनभने— सज्जन मानिस नरिवल जस्तै र अरु मानिसहरु बयर जस्तै बाहिरबाट मात्रै राम्रा देखिने हुन्छन् ।९४
स्नेह सक्यो भने पनि सज्जनको गुण बदलिँदैन कमलको डन्डी भाँचिँदा पनि रेसाहरु गाँसिएकै हुन्छन् ।९५
अर्को कुरो— पवित्रता, दानशीलता, वीरता, सुखदुःखमा समानता, सहयोगी भावना, प्रेमको सम्बन्ध र सत्यता मित्रका गुण नै हुन् ।९६
यी गुणहरुले सम्पन्न तपाईं बाहेक अरु को मित्र खोज्नु र ? उसको यी कुरा सुनेर हिरण्यक बाहिर निस्केर भन्यो— तिम्रा अमृतमय वचन सुनेर म साह्रै सन्तुष्ट भएँ ।
त्यसैले भनिन्छ— सज्ज्न मानिसले प्रेमपूर्वक बोलेका मन्त्र जस्ता सुन्दर वचन अघि सार्दा गर्मीले आत्तिएका बेलामा चिसो पानीले नुहाएको भन्दा मोतीको माला लगाएको भन्दा सबै अङ्गमा चन्दनको लेपन लगाएको भन्दा बढी आनन्द हुन्छ ।९७
अर्को कुरो— गोप्यता भङ्ग गरिदिने, माग्ने, क्रूर व्यवहार गर्नु, चित्त चञ्चल गराउनु, रिसाउनु ढाँट्नु र जुवा खेल्नु जस्ता कामले मित्रतालाई दूषित गराउँछन् ।९८
तिनीहरुमध्ये कुनै पनि दोष तिमीसँग छ जस्तो लाग्दैन ।
किनभने— सिपालु तरिकाले सत्य वार्तालाप गरेको बुझ्न सकिन्छ । विनम्रता र शान्त व्यवहार पनि सजिलैसँग जानिन्छ ।९९
अर्को कुरो— निष्कपट भावना हुनेको मित्रता अर्कै प्रकारले थाहा पाइन्छ र मन दुष्टता हुनेले बोलेको अर्कै किसिमको हुने गर्छ ।१००
दुष्टका मनमा एउटा, वचनमा अर्को र व्यवहारमा अर्कै कुरो हुन्छ । सज्जनका मनमा एकै, वचनमा एकै र कर्ममा पनि एकै कुरो हुन्छ ।१०१
तपाईंले भनेको जस्तै पुगोस् । यसो भन्दै मित्रता गरेपछि विविध प्रकारका भोजनद्वारा कागलाई सन्तुष्ट गराएर हिरण्यक दुलाभित्र पस्यो । काग पनि आफ्ना ठाउँमा गयो । त्यस दिनदेखि ती दुवैको आपसमा भोजन लिनेदिने, सन्चो बिसन्चो सोध्ने र विश्वासपूर्वक कुराकानी गर्ने क्रम चल्दै समय बित्न थाल्यो ।……….

समय जति बित्दै गए पनि यस ग्रन्थबाट उपलब्ध हुने शिक्षाको महत्व कम हुँदैन । यस्तो समयको सीमामा आबद्ध नहुने ग्रन्थलाई हरेक सप्ताह एक एक अंशका रुपमा पढ्ने अवसर होस् भनेर क्रमशः प्रकाशित गर्न लागिएको छ । संस्कृतबाट नेपाली भाषामा यसको रुपान्तरण तिलकप्रसाद लुइटेलबाट भएको हो । नेपाली रुपान्तरणको काम पूरा भएपछि यसलाई पुस्तकका रुपमा प्रकाशन गर्ने प्रयास रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.