हितोपदेशः ३

आर्चाय तिलक प्रसाद लुइटेल

बालकहरुलाई नैतिक र राजनीतिक शिक्षा दिने उद्देश्यले तयार गरिएको हितोपदेशका रचनाकार नारायण पण्डित हुन् । राजाका छोराहरुलाई राजनीतिको शिक्षा दिने उद्देश्यले उनले यस ग्रन्थको रचना गरेका हुन् भन्ने आशय प्रस्तावना खण्डमा आएको छ । ग्रन्थमा पशुपक्षीलाई कथाका पात्र बनाएर संवाद गराइएको छ । पठनमा रुचिकर होस् भनेर र पशुप्राणीप्रति मानिसको सद्भाव रहोस् भनेर पनि यसो गरेको हुन सक्छ । यस पुस्तकमा कथा र नीतिश्लोक छन् कथाहरु अनुच्छेदका रुपमा आएका छन् भने श्लोकको भावार्थलाई सङ्ख्या दिएर सङ्केत गरिएको छ । पुस्तकको यस पटकको अंश यस्तो छ—

सबै घटनाको प्रत्यक्षदर्शी लघुपतनक नामका कागले त्यसपछि आश्चर्यले भन्यो— हे हिरण्यक, तिमी प्रशंसायोग्य छ । यसैले म पनि तिमीसँग मित्रता गर्न चाहन्छु । त्यसैले मसित मित्रता गर्ने कृपा गर । यस्तो सुनेपछि हिरण्यकले दुलाभित्रैबाट भन्यो— तिमी को हौ ? कागले भन्यो— म लघुपतनक नामको काग हुँ । हिरण्यकले हाँस्तै भन्यो— तिमीसँग कस्तो मित्रता ?
किनभने— बुद्धिमानले संसारमा जेसँग जुन कुरा सुहाउँछ त्यसैलाई मिलाउनुपर्छ । म खाइने वस्तु र तपाईं खाने भएपछि कसरी मित्रता हुन सक्छ ?।५४
फेरि अर्को कुरा— खाने र खाइनेका बीचका सम्बन्ध आपद्को कारण बन्छ । स्यालले पासोमा फसाएको मृगलाई कागले जोगायो ।५५
कागले भन्यो— यस्तो के हो ? हिरण्यकले भन्न थाल्यो—
मगध देशमा चम्पकवती नाम भएको एउटा ठूलो जङ्गल छ । त्यसमा धेरै दिनदेखि मृग र काग मिलेर बस्थे । मोटोघाटो र चारैतिर घुमिरहेको त्यस मृगलाई कुनै स्यालले देख्यो । त्यो देखेर स्यालले सोच्यो— कसरी यसको मिठो मांस खाने होला ? जे होस् पहिले विश्वस्त बनाउँछु । त्यस्तो सोच्तै नजिकै आएर भन्यो— मित्र, तिमीलाई आरामै छ ? मृगले सोध्यो— तिमी को हौ ? उसले भन्यो— म क्षुद्रबुद्धि नामको स्याल हुँ । यस वनमा विना साथीको मरेको जस्तै जीवन बिताउँदै छु । अब चाहिँ तिमीलाई मित्र बनाएर फेरि जिउँदो लोकमा पुगेको छु । अब म सधैँ तिम्रो सेवक बनेर बस्नेछु । मृगले भन्यो— लौ ठिक छ । त्यसपछि किरणहरुको माला लगाउने भगवान सूर्य अस्ताएर गएपछि उनीहरु मृगका निवासमा गए । त्यहाँ चम्पकवृक्षको हाँगामा मृगको पुरानो मित्र सुबुद्धि नामको काग बस्ने गथ्र्यो । कागले ती दुवैलाई देखेर भन्यो— मित्र, चित्राङ्ग, यो अर्को को हो ? मृगले भन्यो— यो स्याल हो । हामीसँग मित्रता गर्ने इच्छाले आएको । कागले भन्यो— मित्र, अचानक आउनेसँग मित्रता गर्नु हुँदैन ।
त्यस्तै भनिएको पनि छ—
कुल—स्वभाव थाहा नभएकालाई वास दिनु हुँदैन । किनभने बिरालाका अपराधले जरद्गव गिद्ध मारियो ।५६
यी दुइटैले सोधे— कस्तो कुरो हो ? कागले भन्न थाल्यो—
भागीरथीका किनारमा गृध्रकूट नामको पर्वतमा एउटा ठुलो पाख्रीको रुख छ । त्यसका टोडकाभित्र दुर्भाग्यवश नङ्ग्रा र आँखा बिग्रिएको जरद्गव नामको गिद्ध बस्ने गथ्र्यो । त्यस वृक्षका बासिन्दा चराहरुले माया गरेर उसलाई बाँच्नका लागि आफ्नो आहारबाट अलिअलि झिकेर दिन्थे । ऊ त्यसैले बाँचेको थियो । यसै गरी कुनै बेला दीर्घकर्ण नामको बिरालो चराका बचेराहरु खानका लागि त्यहाँ आयो । अनि त्यसलाई आएको देखेर चराका बच्चाहरु डरले आत्तिएर चिच्याउन थाले । यो सुनेपछि जरद्गवले भन्यो— यो को आयो ? दीर्घकर्णले गिद्धलाई देखेर डराउँदै भन्यो— ओहो, अब मरियो ।
डरसँग त्यतिन्जेल डराउनु जबसम्म आइलाग्दैन । नजिकै आएपछि मानिसले जे ठिक हुन्छ विचार गरेर त्यही गर्नुपर्छ ।५७
अब यसका नजिकबाट भाग्न सकिँदैन । त्यसैले जे हुन्छ, होस् । अहिले विश्वस्त बनाएर नजिक जान्छु । यस्तै सोचेर पसारा पर्दै भन्यो— श्रीमान् तपाईंलाई प्रणाम गरेँ । गिद्धले भन्यो— को होस् ? उसले भन्यो— म बिरालो हुँ । गिद्धले भन्यो— पर भाग् । होइन भने मबाट मर्लास् । बिरालाले भन्यो— एक छिन् मेरो कुरो सुन्नुहोस् । त्यसपछि यदि म मार्ने योग्य रहेछु भने मार्नु ।

किनभने— जातकै कारण कोही मार्न र कोही सत्कार गर्न योग्य हुन्छ कि ? व्यवहार जानेपछि पो मार्न वा पुज्न योग्य हुन्छ ।५८
गिद्धले भन्यो— लौ भन् किन आएको ? बिरालाले भन्यो— म यहाँ गङ्गाकिनारमा सधैँ स्नान गर्दै, निरामिष खाँदै, बस्ने ब्रह्मचारी हुँ र चान्द्रायण व्रत गर्दै छु । तपाईं धर्म—ज्ञानमा लागेका विश्वासपात्र हुनुहुन्छ भनेर सबै पक्षीहरू सधैँ मेरा सामु बयान गर्छन् । तपाईं विद्या र उमेरमा ठुलासँग धार्मिक प्रवचन सुन्न यहाँ आएको हुँ । तपाईं यस्तो धार्मिकले म अतिथिलाई समेत मार्न खोज्दै हुनुहुन्छ ।
गृहस्थधर्म यस्तो हुन्छ— घरमा शत्रु नै आए पनि उचित आदर गर्नुपर्छ । काट्नका लागि नजिक आउनेलाई पनि वृक्षले छाया दिन छोडेको हुँदैन ।५९
यदि धन छैन भने पनि मिठो वचनले अतिथिलाई सत्कार गर्नुपर्दछ ।
किनभने— बस्ने पिर्का, ठाउँ, पानी र चौथो मिठो बोली यी वस्तुहरु सज्जनका घरमा कहिल्यै पनि सकिँदैनन् ।६०
अर्को पनि— सज्जनले गुणहीनमाथि पनि दया नै गर्छन् । चन्द्रमाले चाण्डालका घरबाट ज्योति फिर्ता गर्दैन ।६१
फेरि पनि— विमुख भएर जसका घरबाट अतिथि फर्कन्छ उसले आफ्ना पाप दिएर पुण्य लिएर जान्छ ।६२
अरु पनि— उत्तम वर्णका घरमा नीच वर्णको अतिथि आयो भने पनि उसलाई यथोचित सत्कार गर्नुपर्छ । अतिथि सर्वदेवमय हुन्छ ।६३
गिद्धले भन्यो— किनभने बिरालालाई मांसमा रुचि हुन्छ । यहाँ चराका बच्चाहरु बस्छन् । त्यसैले म यसो भन्दै छु । त्यसो भनेको सुनेपछि बिरालाले जमिन स्पर्श गर्दै कान समायो । भन्यो पनि— धर्मशास्त्र सुनेर मलाई वैराग्य भएको हुनाले यो कठिन चान्द्रायण व्रत गरिरहेको छु । आपसमा विवाद भए पनि ‘अहिंसा परम धर्म’ भन्नेमा सबै धर्मशास्त्रहरु एक मत छन् ।
किनभने— सबै हिंसाबाट मुक्त, सबै दुःखहरु खप्दै सबैलाई जुन मानिसले आश्रय दिन्छ उही स्वर्गमा जान्छ ।६४
धर्म नै एउटा त्यो साथी हो जो मर्दा पनि सँगै जान्छ । अरु सबै शरीरसँगै नाश हुन्छन् ।६५
जसले जसको मांस खान्छ, तिनको अन्तर हेर । एउटाले क्षणिक खुसी पाउँछ, अर्को जीवनबाटै मुक्त हुन्छ ।६६
म मर्ने भएँ भनेका अवस्थामा जस्तो दुःख लाग्दछ, अर्काले त्यसलाई अनुमान गरेर बताउन सक्तैन ।६७
फेरि सुन्नुहोस्— आफैँ उम्रिएका झारपातले पेट भर्न सकिन्छ, यही पेटमा डढाउन कसले ठूलो पाप गर्छ ?।६८
यसरी विश्वस्त पारेर त्यो बिरालो दुःखका टोडकामा बस्न थाल्यो । केही दिन बस्दै गर्दा उसले चराका बच्चाहरुलाई पक्रेर टोडकामा लगेर सधैँ खान थाल्यो । जसका बच्चाहरु खाइए तिनीहरु शोकव्याकुल भएर विलाप गर्दै चारैतिर खोज्न थाले । बिरालाले त्यो थाहा पाएर टोडकाबाट निस्किएर बाहिर भाग्यो । चराहरुले यताउति खोज्दै जाँदा पछि रुखका टोडकामा बच्चाका हड्डीहरु फेला पारे । त्यसपछि भने— यसै जरद्गव बुढा गिद्धले हाम्रा बच्चा खाएछ । सबै चराहरुले ठहराएर गिद्धलाई मारे । त्यसैले म भन्छु— कुल र स्वभाव नजानेका मानिसलाई… ।
यो सुनेपछि स्याल रिसाउँदै भन्न थाल्यो— मृगसँग पहिलो भेट भएका दिन तपाईं पनि त कुल र शील नजानेको नै हुनुहुन्थ्यो नि, तपाईंसँग चाहिँ कसरी यस्तो स्नेह दिनदिनै बढेको हो त ?
विद्वान् जहाँ हुँदैनन् त्यहाँ अल्पज्ञलाई नै प्रशंसा गरिन्छ । रुद नभएका ठाउँमा अणिरलाई नै रुख मानिन्छ ।६९
सानो चित्त हुनेहरु यो आफ्नो र त्यो परको भन्छन्, उदार चरित्र हुनेले संसारलाई नै आफ्नो मान्दछन् ।७०
यो मृग जस्तो मेरो मित्र हो त्यस्तै तिमी पनि हौ । मृगले भन्यो— यस किसिमका सवाल जवाफ गरेर केही हुँदैन । सबै एकै ठाउँमा ढुक्कले कुरा गर्दै सुखले बस्नुपर्छ ।
किनभने— न कोही कसैको मित्र हुन्छ, न कोही कसैको शत्रु हुन्छ । व्यवहारले शत्रु र मित्र बनाउँछ ।७१
कागले भन्यो— ठिकै छ । अनि बिहान सबै आआफ्ना ठाउँतिर गए ।
एक दिन एकान्तमा स्यालले भन्यो— मित्र, यस वनका एक छेउमा खेतीले भरिपूर्ण ठाउँ छ । त्यहाँ लगेर तिमीलाई देखाउँछु । त्यसो गरेपछि मृगले सधैँ गएर खेती खायो । त्यो देखेपछि खेतका धनीले पासो थाप्यो । अर्को पटक फेरि आउँदा मृग पासोमा प¥यो र सोच्न थाल्यो— यो कालको फन्दा जस्तो व्याधाको पासोबाट मित्रबाहेक अरु कसले मलाई उद्धार गर्ला ? यसै बीचमा स्याल त्यहाँ आएर उभियो र सोच्न थाल्यो— मेरा छल व्यवस्थाले रहर पूरा हुने भयो । यसका झिकिएका रगत र मांस लागेका हड्डी मैले अवश्य पाउनेछु । त्यसले भोजन मनग्गे हुनेछ । मृगले उसलाई देखेर खुसी हुँदै भन्यो— मित्र, मेरो यो बन्धन काटिदेऊ र मलाई चाँडै बचाऊ ।
किनभने— आपद्मा मित्रलाई र युद्धमा वीरलाई चिन्नु, ऋण लाग्दा व्यवहार, धन सकिँदा पत्नी र दुःख पर्दा दाजुभाइलाई चिन्नुपर्छ ।७२
अर्को कुरो— उत्सवमा, आपद्मा, अनिकालमा, राष्ट्रिय सङ्कटमा राजका ढोकामा र श्मशानमा जो भेटिन्छ त्यही मित्र हो ।७३
स्यालले बारबार जाललाई हेरेर सोच्यो— यो बन्धन बलियो छ । भन्यो पनि— यी पाशहरु स्नायुले बनाइएका छन् । त्यसैले आज आइतवारको दिन म यसलाई दाँतले कसरी छुनु ? यदि तिमी चित्तमा अन्यथा मान्दैनौँ भने भोलि बिहान तिमी जे भन्छौ त्यही गर्छु । यसो भन्दै नजिकै आफूलाई छलेर बस्यो । त्यसपछि उही काग साँझपख मृग नआएको देखेर खोज्दै आउँदा त्यस्तो देखेपछि सोध्यो— मित्र, यस्तो के भएको ? मृगले भन्यो— यो मित्रको वचन नटेरेको फल हो ।
त्यस्तै भनिन्छ— हितकारी मित्रको कुरा जसले टेर्दैन आपद् त्यसका नजिकै हुन्छ र उसले शत्रु हँसाउँछ ।७४
कागले भन्यो— त्यो ठग कता छ ? मृगले भन्यो— मेरा मांसको लोभी यतै होला । कागले भन्यो— मैले पहिले नै भनेको थिएँ—
मेरो अपराध केही छैन भन्नु नै विश्वास गर्ने आधार होइन । शत्रुता गर्ने नीचहरुबाट गुणीलाई पनि डर हुन्छ ।७५
आयु सकिएकाले निभ्दै गरेका बत्तीको गन्ध सुङ्दैन, मित्रको वचन सुन्दैन र अरुन्धती तारालाई देख्तैन ।७६
पछाडि बिगार गर्ने र अगाडि मिठो बोल्ने त्यस्ता मुखमा अमृत राखेको विषको घडा जस्ता मित्रलाई त्यागौँ ।७७
कागले लामो सास फेरेर भन्यो— अरे दुष्ट, तँ पापीले यस्तो के गरिस् ?
किनभने— राम्रो वचन बोल्ने र झुटो व्यवहारले वशमा गर्नेहरुका लागि विश्वास गर्नेलाई र धन माग्नेलाई झुक्याउन कुनै ठुलो कुरो हुँदैन ।७८
हे भगवती पृथ्वी, उपकार गर्ने, विश्वास गर्ने र शुद्ध मन भएका मानिससँग जसले पाप गर्छ त्यस्ता मानिसलाई समाजमा किन बोकिराख्छौ ?।७९
दुष्टसँग मित्रता र शत्रुता पनि गर्नु हुँदैन । बलेका कोइलाले पोल्छ निभेकाले हात कालो पार्छ ।८०
अथवा दुष्टको बानीव्यहोरा यस्तो हुन्छ—
पहिले खुट्टामा बस्छ, पिठ्युँको मांस खान्छ, कानका नजिकै बिस्तारै विचित्र रुपले गुन्गुनाउँछ र प्वाल परेका ठाउँबाट अचानक ढुक्कले छिर्छ । यसरी दुष्टको बेहोरा मच्छरकै जस्तो हुन्छ ।८१
दुष्टले मिठो बोल्दा नै विश्वास गरिहाल्नु हुँदैन, जिब्रामा मधुरता र मनमा हालाहल विष भरिएको हुन्छ ।८२
त्यसपछि बिहानै लौरो लिएर त्यतैतिर आउँदै गरेको खेतका धनीलाई कागले देख्यो । त्यसलाई देखेपछि कागले भन्यो— मित्र मृग, तिमी आफूलाई मरेको जस्तै देखाऊ । हावाले पेट फुलाएर खुट्टा तन्काएर लमतन्न बस । म जब कराउँछु त्यसै बेला जुरुक्क उठेर तिमी भाग्नु । मृग त्यसरी नै कौवाले भनेझैँ बस्यो । अनि खेतवाला खुसीले आँखा तन्काउँदै मृगलाई उसरी नै हे¥यो । आहाः आफैँ मरिछस् भन्दै मृगलाई बन्धनबाट खोलेर पासो भेला गर्ने सुरसारमा लाग्यो । त्यही बेलामा काग कराएको सुनेर झटपट उठेर कुद्यो । किसानले त्यसलाई ताकेर दरो झटारो हानेको स्याललाई स्याल ठहरै म¥यो ।
त्यसैले भनिन्छ—तीन वर्ष, तीन महिना, तीन पक्ष र तीन दिनमा ठुला पाप—पुण्यको फल यसै लोकमा भोग्छ ।८३
त्यसैले म भन्छु— खाने र खाइनेका बीचमा कहिल्यै मित्रता हुँदैन ।
कागले फेरि भन्यो— मैले तिमीलाई खाएँ भने पनि पर्याप्त भोजन हुँदैन । म चित्रग्रीव जस्तै निष्कपट भएर म तिमी बाँच्दा म बाँचेको हुन्छु ।८४……..

समय जति बित्दै गए पनि यस ग्रन्थबाट उपलब्ध हुने शिक्षाको महत्व कम हुँदैन । यस्तो समयको सीमामा आबद्ध नहुने ग्रन्थलाई हरेक सप्ताह एक एक अंशका रुपमा पढ्ने अवसर होस् भनेर क्रमशः प्रकाशित गर्न लागिएको छ । संस्कृतबाट नेपाली भाषामा यसको रुपान्तरण तिलकप्रसाद लुइटेलबाट भएको हो । नेपाली रुपान्तरणको काम पूरा भएपछि यसलाई पुस्तकका रुपमा प्रकाशन गर्ने प्रयास रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.